
चैतेदशैंका अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा परम्परागत कालदेखि नै ठूलो मेला लाग्ने गरेको छ । नेपालको सबैभन्दा महत्वपूर्ण मेला मध्येको एक चैत्रअष्टमी मेला यस वर्षको चैत २९ गतेदेखि सुरु हुँदैछ ।
बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अनुसार हरेक वर्ष चैतेदशैंका अवसरमा प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बागलुङ कालिका भगवती मन्दिर परिसरमा एक सातासम्म मेला लाग्ने गरेको छ ।
परम्परालाई कायम राख्दै कला संस्कृतिको प्रवद्र्धन गर्ने मेलाको उद्देश्य रहेको छ । गुठी व्यवस्थापन समितिले पछिल्लो समय मेलाको आयोजना र सञ्चालन गर्दै आएको छ । पर्यटन प्रवर्द्धन, संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको प्रवद्र्धन र परम्परालाई निरन्तरता दिने उद्देश्यले मेला आयोजना गर्न लागिएको हो ।
यो मेलाको आफ्नै महत्व र इतिहास छ । पहाडका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारीसँग विवाह गर्दा घना जङ्गलको बीचमा कालिकाको दाइजोको मूर्ति राखेपनि उठाउन खोज्दा त्यसलाई ठुलो पारेको मन्दिरको अभिलेखमा उल्लेख छ । सोही ठाउँमा स्थापना गरी पुजा गरिएको थियो ।